कांग्रेसको प्रतिनिधि छनोटमा सुनसरी–४ मा विवाद, हात हालाहाल

सुनसरी । नेपाली कांग्रेसको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा सुनसरी क्षेत्र नम्बर ४ मा विवाद भएपछि हात हालाहाल भएको छ । गएराति गफार अन्सारी र अयुव अन्सारी पक्षबीच हात हालाहालसँगै नाराबाजी भएको हो। अयुव पक्षले निर्वाचनका क्रममा गफार अन्सारी पक्षले धाँधली गरेको आरोप लगाएपछि विवाद बढेको बताइएको छ।

विरोधमा अयुव पक्षका कार्यकर्ताले केही समय पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकहीस्थित सिटी भवन अगाडि सडकसमेत अवरुद्ध गरेका थिए। स्थानीय नेताहरूका अनुसार निर्वाचन भइरहेको सिटी हलमा अयुव पक्षले मतपत्र खोस्ने प्रयास गरेपछि त्यहाँ पुगेका गफार अन्सारीले मतपेटिकामा लात्ती हानेको आरोप छ। त्यसपछि दुई पक्षबीच विवाद चर्किएको थियो।

करिब डेढ घण्टासम्म विवाद भएपछि प्रहरीले मतपेटिका सुरक्षित गरेर मतदानको वातावरण बनाएको थियो। विवादकै बीच सुनसरी–४ मा प्रतिनिधि छनोटको मतदान सम्पन्न भएको छ। मतदानपछि मतपेटिका जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहले जानकारी दिनुभयो। निर्वाचन अधिकृत भरतबहादुर थापाका अनुसार केन्द्रीय कार्यालयको निर्देशनपछि मतदान भएका मतपत्रसहितको मतपेटिका सिलबन्दी गरेर सुरक्षित राखिएको हो।

उहाँका अनुसार धेरै मतदान भइसकेकाले मतदान भएका मतपत्रलाई सुरक्षित राखिएको र निर्वाचन स्थगित गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी क्षेत्र नम्बर १ मा असोज १५ गते तथा क्षेत्र नम्बर २ र ३ मा बुधबार प्रतिनिधि छनोटका लागि मतदान हुनेछ।

Facebook Comments Box