आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौँ – देशभर आज विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित विश्वकर्मा पूजा मनाइँदै छ । धार्मिक विश्वासअनुसार भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको मानिन्छ । त्यसैले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।

विश्वकर्मा पूजाका अवसरमा उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुर, शिल्पकार, कलाकार र उद्यमीले आफ्ना मेसिन, औजार तथा उपकरणको सरसफाइ गरी पूजा गर्ने गरेका छन् । नयाँ सवारीसाधन खरिद गर्ने तथा पुराना सवारीसाधनको समेत पूजा गर्ने परम्परा छ ।

यस अवसरमा काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठमा सवारीसाधन लिएर पूजा गर्न जानेको बिहानैदेखि भीड लागेको छ । धार्मिक मान्यताअनुसार विश्वकर्मालाई देवशिल्पी तथा विश्वकै पहिलो इन्जिनियर र वास्तुकारका रूपमा लिइन्छ । पौराणिक कथनअनुसार उनले स्वर्गलोक, लंका, द्वारिका तथा विभिन्न देवताका अस्त्र–शस्त्र निर्माण गरेका थिए ।

विश्वकर्माको आराधना गर्दा कार्यक्षेत्रमा आउने बाधा–अड्चन हट्ने तथा सीप, दक्षता र कार्यकुशलता बढ्ने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा उद्योग, निर्माण, प्रविधि, शिल्प तथा विभिन्न सिर्जनात्मक कर्ममा संलग्न व्यक्तिले आज विशेष श्रद्धाका साथ विश्वकर्माको पूजा गर्ने गर्छन् ।

Facebook Comments Box