वर्षा कम भएपछि सिन्धुपाल्चोकका बाढी पीडितलाई थोरै भए पनि राहत

सिन्धुपाल्चोक, ३ असार – वर्षा कम भएपछि सिन्धुपाल्चोकका बाढी पीडितलाई थोरै भए पनि राहत भएको छ । नदीमा पानीको बहाव कम भएसँगै उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री ओसार्न थालेको छ ।

बाढीबाट विस्थापितहरु विद्यालय र सामुदायिक भवनमा बसेका छन् । आज बिहान काठमाण्डौबाट सेनाको हेलिकप्टर गएपछि मेलम्चीमा राखिएको राहतका सामग्री हेलम्बुमा पुर्याइएको उद्धारमा खटिएका सेनाका निर्मल श्रेष्ठले भन्नुभयो । बाढीपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । सञ्चार सम्पर्क विच्छेद हुँदा बाढीबाट भएको क्षतिबारे पूणर् जानकारी आउन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची-हेलम्बु र मेलम्ची-भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । यसैबीच , ऐतिहासिक पर्यटकीय महत्व बोकेको रानीमहल यतिबेला जोखिममा परेको छ । चार दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले रानीमहल क्षेत्र जोखिममा परेको हो । गाईघाट खोलासँगै बगेको बाढीले रानीमहल परिसर डुबानमा परेको छ । कालीगण्डकी नदीको बहावले रानीमहलको तल्लो भाग कटान गरिरहेको छ ।

यसैगरी , तीन दिनदेखिको परेको अविरल वर्षाका कारण दैलेखको दुल्लु नगरपालिकामा हिजो चार घर र आज चार घर गरी आठ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार वर्षाका कारण घर भत्किँदा मानवीय क्षति भने भएको छैन । भत्किएका केही घरमा आंशिक क्षति भएको र केही घरमा पूणर् क्षति भएका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै , वर्षासँगै आएको पहिरोका कारण कणर्ाली राजमार्गमा सवारी साधन आवत-जावतमा समस्या हुने गरेको छ । तिन दिन यता परेको वर्षाले राजमार्गका ठाउँ-ठाउँमा पहिरो आउने गरेकाले समस्या हुने गरेको प्रहरीले जनाएको छ ।

यसैबीच , झिमरुक नदीमा आएको बाढीका कारण अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । त्यो पुलले प्युठानको ऐरावती गाउँपालिका -१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका-७ चिउरेखोला जोड्छ । चार दिनदेखिको निरन्तर वर्षा र त्यसपछि आएको बाढीले पुलको पिल्लर बगाइदिएको सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर अरुण केसीले जानकारी दिनुभएको हो ।

Facebook Comments Box