कोशी र बागमतीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

