कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता १७५ वटा विपद्का घटना भएका छन् । ती घटनामा १० जनाको मृत्यु, ३१ जना घाइते र दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरीका अनुसार विपद्का कारण १५२ घरधुरी विस्थापित भएका छन् भने २१ वटा उद्योगमा क्षति पुगेको छ । साउनयता सबैभन्दा धेरै ११८ वटा पहिरोका घटना भएका छन् । यस्तै, बाढीका ४२, आगलागीका १७, अविरल वर्षाका पाँच तथा चट्याङ र हावाहुरीका सात–सात वटा घटना भएका छन् ।

विपद्का कारण सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ । जाजरकोटमा चार जनाको मृत्यु भएको छ भने कालीकोट र मुगुमा दुई–दुई तथा सल्यान र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । लगातारको वर्षासँगै पहाडी जिल्लाका सडक तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढेको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात सेवा तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुनुका साथै उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ हुने गरेको छ ।

प्राकृतिक विपद्का कारण घर तथा बस्तीका साथै उद्योग व्यवसायमा समेत क्षति पुगेको छ । साउनयता २१ वटा उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीको तथ्यांक छ । उद्योग तथा व्यवसायमा क्षति हुँदा स्थानीय उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत असर पर्ने गरेको छ ।प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्णालीमा विपद्का कारण २२ जनाको मृत्यु र ७३ जना घाइते भएका थिए । सो अवधिमा ७८ घरधुरी विस्थापित भएका थिए भने ३४ घर स्थानान्तरण गरिएको थियो ।

चालु आर्थिक वर्ष २०८३/८४ मा कर्णालीका १० जिल्लामा हालसम्म २५२ वटा विपद्का घटना भएका छन् । तीमध्ये साउनयता मात्रै १७५ घटना भएका हुन् । कर्णालीमा बाढी, पहिरो, आगलागी, अविरल वर्षा, चट्याङ तथा हावाहुरीका कारण वर्षेनी जनधनको क्षति हुने गरेको छ । प्रदेश प्रहरीका अनुसार जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणालीको विस्तार, उद्धार सामग्रीको पर्याप्त व्यवस्था तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन आवश्यक छ ।

Facebook Comments Box