वर्षाका कारण १०५ ग्यास बुलेट बाटोमै रोकिए
काठमाडौँ। अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा आपूर्तिका लागि भारतबाट ल्याइएका १०५ वटा ग्यास बुलेट बाटोमै रोकिएका छन्। बुधबारदेखि जारी वर्षाका कारण ग्यास बोकेर आएका बुलेट विभिन्न स्थानमा रोकिएका हुन्। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ती बुलेटमा करिब एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ। बाटो खुल्नासाथ बुलेट उपत्यका भित्रिने भएकाले ग्यास अभाव कम हुने उहाँले बताउनुभयो।
बरौनी, पारादीप र हल्दियालगायत भारतीय स्थानबाट ग्यास लोड भएका बुलेट चितवन र हेटौँडा आसपाससम्म आइसकेका छन्। कृष्णभीर तथा धादिङका विभिन्न स्थानमा गएको पहिरो हटाएर सडक सञ्चालनमा आएपछि ती बुलेट काठमाडौँतर्फ आउने निगमले जनाएको छ।उपत्यकामा आपूर्ति हुने १६ वटा ग्यास ब्रान्डका बुलेट वीरगन्ज भन्सारबाट क्लियर भइसकेका छन्। केही बुलेट चितवनको रामनगर, केही हेटौँडा तथा अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएका छन्।
एउटा ग्यास बुलेटमा १८ देखि २० टन ग्यास हुन्छ भने त्यसबाट करिब एक हजार २५० सिलिन्डर भर्न सकिन्छ। सडक खुलेपछि लगातार तीनदेखि चार दिन दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सकिने निगमले जनाएको छ। निगमका अनुसार आइतबार मात्रै १७ हजार सिलिन्डर बजारमा पठाइएको थियो। यसैबीच, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा एक लाख १७ हजार १६८ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ।
भन्सार विभागका अनुसार साउन र भदौमा १६ अर्ब २६ करोड रुपैयाँ बराबरको ग्यास आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा नौ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको ९१ हजार ९६३ मेट्रिक टन ग्यास आयात भएको थियो। यस वर्ष दुई महिनामा गत वर्षको तुलनामा २६ हजार मेट्रिक टन बढी ग्यास आयात भए पनि बजारमा अभाव भने कायम रहेको निगमले जनाएको छ। निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन र साउनमा ५७ हजार ३३५ मेट्रिक टन ग्यास आयात भएको थियो।

