बाढीका कारण गण्डकीमा एक हजार मेगावाटसम्म विद्युत् उत्पादन अवरुद्ध

काठमाडौँ । असोज ८ गतेदेखि जारी निरन्तर वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जलविद्युत् आयोजना बन्द भएका छन्। बाढीपहिरोका कारण गण्डकीसहित लुम्बिनी, मधेश र कर्णाली प्रदेशका प्रसारण तथा वितरण सञ्जालमा समेत क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी नदी क्षेत्रमा आएको बाढीका कारण प्रसारण लाइन विच्छेद हुनुका साथै सुरक्षाका लागि जलविद्युत् आयोजना बन्द गरिएकाले आइतबार करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।

२२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा त्यसबाट विद्युत् प्रवाह हुने १३ वटा उत्पादन केन्द्रका ३५८ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको छ। यस्तै, म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप १४ वटा उत्पादन केन्द्रका करिब ६३० मेगावाट क्षमताका आयोजना नदीमा पानीको बहाव अत्यधिक बढेपछि बन्द गरिएको प्राधिकरणले जनाएको छ।

कालीगण्डकीको बाढीले केही दिनअघि मात्रै उत्पादन सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा समेत क्षति पुगेको छ। कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ भने कुस्मा–नयाँ बुटवल खण्डमा पनि समस्या आएको प्राधिकरणले जनाएको छ।

बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, माथिल्लो दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायतका आयोजनाको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालले कालीगण्डकी कोरिडोर प्रसारण लाइन मर्मत गर्न केही दिन लाग्ने बताउनुभएको छ।

बाढीपहिरोका कारण २२०, १३२, ३३ र ११ केभीका अन्य प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। यसबाट मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ पूर्ण रूपमा विद्युत्विहीन भएका छन् भने प्युठान, रुकुमपूर्व र रोल्पामा पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। मधेश प्रादेशिक कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा डुबानका कारण ७८ वटा पोल ढलेका छन् भने १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको विवरण सङ्कलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ। सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

सडक अवरुद्ध भएका कारण केही प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ। प्राकृतिक विपत्का कारण उत्पन्न जोखिमलाई ध्यानमा राख्दै कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकता दिएर मात्र मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ।

Facebook Comments Box