बाढीपहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक प्रभावित
काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सहायक सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। जोखिम बढेपछि विभिन्न जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ। रसुवाको उत्तरगयास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड नदी कटान र बाढीका कारण अवरुद्ध भएपछि पासाङल्हामु राजमार्गसमेत पूर्ण रूपमा बन्द भएको छ।
रसुवा र नुवाकोट जोड्ने मुख्य सडक बन्द भएपछि काठमाडौँबाट टोखा, छहरे, विदुर, नुवाकोट दरबार, लच्याङ, कालिकास्थान हुँदै स्याफ्रुबेँसीसम्म पुग्न एक लेनको कच्ची वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। कोशी प्रदेशका भोजपुर, सोलुखुम्बु र उदयपुरमा मध्यपहाडी तथा सिद्धिचरण लोकमार्गमा साँझदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। रोल्पाको मदन भण्डारी राजमार्गअन्तर्गत माडीचौर सडकखण्डमा समेत जोखिमका कारण सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
गण्डकी प्रदेशका मनाङ, कास्की, मुस्ताङ, म्याग्दी र पर्वतमा पनि जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। मनाङको बेँसीसहर–खाङसार सडक, पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गको पर्वत खण्ड तथा कास्की, मुस्ताङ र म्याग्दीका ग्रामीण सडकमा रातको समयमा सवारी चलाउन निषेध गरिएको छ।
बागमती प्रदेशका चितवन र धादिङमा नारायणगढ–मुग्लिन तथा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। धादिङको कृष्णभीर र पानीधारामा ठूला ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। मकवानपुरमा कान्ति लोकपथ र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट सवारी सञ्चालनका लागि समय तालिका निर्धारण गरिएको छ।
त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यासबाहेक १० चक्काभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई प्रवेशमा रोक लगाइएको छ। सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकमा बीपी तथा अरनिको राजमार्गमा रात्रिकालीन आवतजावतमा रोक लगाइएको छ। काभ्रेको चारसयबेँसी, गिम्दीबेँसी तथा धुलिखेलको पकुचामा पहिरो खसेपछि बीपी र अरनिको राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन्।
यसैगरी, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मनाङको चामे–बेँसीसहर सडक, गुल्मीको रुद्रवेणी–वामीटक्सार र रिडी–तम्घास सडक तथा कालीगण्डकी करिडोर पहिरोका कारण प्रभावित भएका छन्। बागलुङको मध्यपहाडी लोकमार्ग, रोल्पाको सहिदमार्ग, कालिकोटको कर्णाली राजमार्ग, म्याग्दीको बेँसी–जोमसोम, मकवानपुरको भीमफेदी–फाखेल, मुस्ताङको जोमसोम–कोरला र हुम्लाको कर्णाली करिडोरका विभिन्न स्थानमा समेत यातायात अवरुद्ध भएको छ।
नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, दार्चुलाको महाकाली राजमार्ग, पाल्पा र स्याङ्जाको सिद्धार्थ राजमार्ग, ललितपुरको कान्तिलोकपथ, लमजुङको बेँसीसहर–मनाङ सडक तथा तनहुँको पृथ्वी राजमार्गका विभिन्न स्थानमा लेदो र पहिरो खसेको छ। दाङको तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत ग्वारखोलाको पुरानो पुलमुनि माटो खसेपछि पुल बन्द भएको छ।
डोटीमा पनि निरन्तर वर्षाका कारण जिल्ला प्रशासन कार्यालयले २४ घण्टाका लागि सबै सवारी साधनको आवागमनमा रोक लगाएको छ। सडक विभाग र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउन तथा यात्रुलाई सुरक्षित गन्तव्यतर्फ पठाउन आवश्यक समन्वयसहित काम गरिरहेका छन्।

