वसन्तपुरबाट इन्द्रजात्रा सुरु

काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायरबाट इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर यस वर्षको इन्द्रजात्रा सुरु गरिएको हो । भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने परम्परा छ । त्यसपछि विभिन्न नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने गरिन्छ ।

लिङ्गो ठड्याउने विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रुमाथि विजय प्राप्त गरेको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने परम्परा रहेको बताइन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकबाट जीवित देवीका रूपमा पूजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ । इन्द्रध्वजको लिङ्गो ठड्याएपछि जात्राभरि भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रदर्शन गरिन्छ ।

लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गरी लिङ्गो ढाल्ने विधान रहेको छ । नेवारी समुदायले मनाउने इन्द्रजात्रा काठमाडौँसँगै ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि विभिन्न सांस्कृतिक तथा धार्मिक विधिसहित धुमधामका साथ मनाउने गरिन्छ ।

Facebook Comments Box