नमोबुद्ध जात्रा आजदेखि सुरु, करुणा र परोपकारको सन्देश बोकेको ऐतिहासिक मेला

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिकस्थल नमोबुद्धमा तीनदिने धार्मिक मेला आजदेखि सुरु हुँदैछ । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्ने यो जात्रा गौतम बुद्धको पूर्वजन्मसँग जोडिएको छ । धार्मिक किंवदन्तीअनुसार एक राजकुमारले भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको जीवन बचाउन आफ्नो शरीर अर्पण गरेका थिए । यही त्याग, करुणा र परोपकारको स्मरणमा प्रत्येक वर्ष नमोबुद्धमा मेला लाग्ने परम्परा छ ।

नमोबुद्ध नगरपालिका–११ मा रहेको यस धार्मिकस्थलमा कात्तिक शुक्ल चतुर्दशीदेखि पूर्णिमा हुँदै प्रतिपदासम्म तीन दिन मेला सञ्चालन हुन्छ । मेलामा नेपालका विभिन्न जिल्ला तथा विदेशबाट समेत बौद्ध धर्मावलम्बी र श्रद्धालु सहभागी हुने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष करिब ५० हजार भक्तजनले नमोबुद्धको दर्शन तथा पूजाआजा गर्ने गरेका छन् ।

किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा भोकले व्याकुल बघिनी र उनका पाँच डमरु देखेपछि आफ्नो शरीरको मासु खुवाएर उनीहरूको जीवन बचाएका थिए । यस घटनाको स्मरणमा उक्त स्थानमा पूजा गर्ने र दीप प्रज्वलन गर्ने परम्परा रहिआएको नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताउनुभएको छ ।

जात्राको पहिलो रात पितृको सम्झनामा रातभर दीप प्रज्वलन गर्ने, परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्ने चलन छ । विशेषगरी तामाङ र नेवार समुदायको सहभागिता रहने मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ र नुवाकोटलगायत जिल्लाबाट श्रद्धालु पुग्ने गरेका छन् ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत कृष्ण द्वादशीमा समेत मेला लाग्ने गर्दछ । यहाँ विशाल गुम्बा, मन्दिर, चैत्य तथा बुद्धका मूर्तिहरू रहेका छन् । गन्धमान पर्वतको टुप्पोमा राजकुमारको अस्थिपञ्जर सङ्कलन गरी स्तूप निर्माण गरिएको अभिलेखसमेत रहेको बताइन्छ । काठमाडौँबाट करिब ३२ किलोमिटर पूर्व र धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा रहेको नमोबुद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँबाट पनौतीका हरियाली बस्ती, पहाडी भूभाग तथा हिमशृङ्खलाको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।

Facebook Comments Box