एनपीएल : दोस्रो क्वालिफायर प्रवेशका लागि आज चितवन र काठमाण्डु भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बुधबार इलिमिनेटर खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्। आजको खेलमा पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ।
लिग चरणमा काठमाण्डु सात खेलबाट आठ अंक जोड्दै तेस्रो स्थानमा रह्यो भने चितवन सात अंकसहित चौथो स्थानमा रहेको थियो। नेट रनरेटमा पनि काठमाण्डु चितवनभन्दा अगाडि छ। चितवनको ब्याटिङमा रवि बोपारा र डाविड मलान मुख्य खेलाडीका रूपमा देखिएका छन्। बोपाराले पाँच खेलमा १८४ तथा मलानले चार खेलमा १४९ रन बनाएका छन्। बलिङतर्फ रिजन ढकालले ११ र कमलसिंह ऐरीले १० विकेट लिएका छन्।
यता काठमाण्डुका लागि राशिद खानले ६ खेलमा १८५ रन बनाएका छन् भने डेविड वार्नरले १२७ रन जोडेका छन्। बलिङमा जाहान्दाद खानले ११ तथा करण केसी र सन्तोष यादवले आठ–आठ विकेट लिएका छन्। यस सिजन लिग चरणमा भएको भेटमा काठमाण्डुले चितवनलाई १० रनले पराजित गरेको थियो। समग्र हेड टु हेडमा पनि काठमाण्डु दुई र चितवन एक खेलमा विजयी भएका छन्।
यसैबीच, मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। अब आजको खेलको विजेताले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेता शनिबार हुने फाइनलमा लुम्बिनीसँग उपाधिका लागि भिड्नेछ।

