आज देशभर वर्षाको सम्भावना, केही स्थानमा अति भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, बङ्गालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास केन्द्रित रहेको छ।

महाशाखाका अनुसार उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा उत्तर–पश्चिमतर्फ सर्ने र आगामी १२ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ भने सुदूरपश्चिममा आंशिक बदली छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभाग, कर्णालीका पहाडी भूभागका अधिकांश स्थानमा तथा मधेस र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्छ। लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेसका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

आज राति पनि देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र कर्णालीका पहाडी भूभागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। साथै कोशी, मधेस र बागमतीका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box