एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन सदस्यले धारणा राख्दै

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज बिहान ९ बजेदेखि सुरु हुँदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिरहेका छन् । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंगलबारसम्म १ सय १८ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् ।

बाँकी सदस्यले आज आफ्नो धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय दिइएको छ । बैठकमा पार्टीका विभिन्न नौ एजेण्डामाथि छलफल भइरहेको छ । तीमध्ये केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका विषयसमेत रहेका छन् ।

आचार्यका अनुसार आज सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही महत्वपूर्ण निर्णय गर्ने र ती निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी गरिएको छ । पार्टीभित्र मतभेदका बीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि अधिकांश सदस्यले समर्थन जनाएका आचार्यले बताउनुभयो ।

Facebook Comments Box