स्याङ्जामा यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढीको सुन्तला उत्पादन

स्याङ्जा, १८ पुस – स्याङ्जा जिल्लामा यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका अनुसार चालु वर्ष जिल्लामा २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो।

यहाँ उत्पादन भएको सुन्तला थोकमा प्रतिकिलो रु ५७ का दरले बिक्री भएको सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिनुभयो। गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो।

गत वर्ष जिल्लामा २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष उत्पादकत्वसमेत वृद्धि भई प्रतिहेक्टर १६.३७ टन पुगेको छ, जबकि गत वर्ष प्रतिहेक्टर १४.६६ टन उत्पादन भएको थियो।

जिल्लामा उत्पादन भएको सुन्तलामध्ये करिब ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी १० प्रतिशत कोसेली, उपहार तथा घरायसी प्रयोजनमा खपत हुने गरेको छ। यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन सुन्तला बिक्रीयोग्य रहेको जनाइएको छ।

यस वर्ष स्याङ्जामा सुन्तला बगैँचाले ढाकेको क्षेत्रफल पनि वृद्धि भएको छ। गत वर्ष २ हजार २५० हेक्टर रहेको क्षेत्रफल बढेर यस वर्ष २ हजार ४०० हेक्टर पुगेको छ। उत्पादनशील क्षेत्रफल गत वर्षको १ हजार ३७० हेक्टरबाट बढेर यस वर्ष १ हजार ४२० हेक्टर पुगेको छ। हुर्कँदो बगैँचाको क्षेत्रफल पनि ८८० हेक्टरबाट बढेर ९८० हेक्टर पुगेको छ।

विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन घोषणा गरिएको थियो भने आव २०७५/७६ देखि सुन्तलाको सुपरजोनका रूपमा कार्यान्वयनमा ल्याइएको छ। सुपरजोन घोषणापछि जिल्लामा सुन्तलाखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। निर्वाहमुखी रूपमा हुँदै आएको सुन्तलाखेती अहिले व्यवसायिक बन्दै गएको छ।

किसानले पाखो, भिरालो र बारीका जमिन सदुपयोग गर्दै सुन्तलालाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न थालेका छन्। पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिका तथा आँधीखोला, फेदीखोला, विरुवा र अर्जुनचौपारी गाउँपालिका स्याङ्जाका प्रमुख सुन्तला उत्पादन पकेट क्षेत्र हुन्।

यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल र नारायणगढलगायतका प्रमुख सहरमा बिक्री हुँदै आएको छ। व्यापारीहरू सिधै बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।

Facebook Comments Box