काठमाडौँ विश्वकै पाँचौँ प्रदूषित सहर, एक्यूआई १७२ पुग्यो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण थप बढेको छ । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरका अनुसार बुधबार बिहान ६ देखि ७ बजेसम्म काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ । यसअघि बिहान ५ देखि ६ बजेसम्म १५८ एक्यूआईसहित काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा थियो । एक घण्टामै एक्यूआई १४ अंकले बढेको हो ।

एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई अस्वस्थकर मानिन्छ । आईक्यूएयरको तथ्यांकअनुसार २८४ एक्यूआईसहित पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । दोस्रो स्थानमा बङ्गलादेशको ढाका २०८, तेस्रोमा भारतको कोलकाता १९९ र चौथोमा दिल्ली १८३ एक्यूआईसहित रहेका छन् । त्यस्तै, उज्बेकिस्तानको तास्कन्द छैटौँ, इन्डोनेसियाको जकार्ता सातौँ र भारतको मुम्बई आठौँ स्थानमा छन् ।

काठमाडौँको वायु प्रदूषण बढ्दै जाँदा बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ । प्रदूषण उच्च रहेको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन र बाहिर निस्कनुपरे मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

Facebook Comments Box