विदेशको १८ वर्षे रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
कास्की । कतार र कुवेतमा १८ वर्ष बिताउनुभएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले गाउँमै भैँसीपालन गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । विदेशको रोजगारी छाडेर आठ वर्षअघि गाउँ फर्किनुभएका क्षेत्रीले भैँसीपालनलाई आम्दानीको मुख्य स्रोत बनाउनुभएको हो । उहाँको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँचवटा दुहुना छन् ।
क्षेत्रीले दूध सिधै बिक्री नगरी दही जमाएर मोही पार्ने र घ्यू उत्पादन गरेर बेच्दै आउनुभएको छ । पाँच दिनको दूधबाट करिब चार लिटर घ्यू उत्पादन हुने र प्रतिलिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने उहाँले बताउनुभयो । उत्पादित घ्यू गाउँमा मात्रै नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्याएर पर्यटकलाई समेत बिक्री गर्ने गर्नुभएको छ । पर्यटकसम्म स्थानीय उत्पादनको बजार विस्तार भएपछि घ्यू बिक्रीमा समस्या नरहेको उहाँको अनुभव छ ।
भैँसीपालनको खर्च घटाउन क्षेत्रीले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आउनुभएको छ । दूध दिने भैँसीलाई गोठमा राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गर्नुभएको छ । यसबाट घाँस, दाना र परालको खर्च कम हुने उहाँ बताउनुहुन्छ । घ्यू उत्पादनसँगै राँगा तथा भैँसीको खरिदबिक्रीसमेत गर्दै आउनुभएका क्षेत्रीले व्यवसायबाट घरखर्च कटाएर वार्षिक करिब तीन लाख रुपैयाँ बचत गर्ने गर्नुभएको छ । राम्रो दूध दिने एउटा भैँसीको मूल्य एक लाख रुपैयाँसम्म पर्ने उहाँले बताउनुभयो ।
परिवारको सहयोगले व्यवसाय सञ्चालन गर्न सहज भएको उहाँको भनाइ छ । विदेशमा लामो समय बिताउँदा परिवारबाट टाढा हुनुपरेको अनुभवपछि स्वदेशमै व्यवसाय गर्ने सोच बनाएको उहाँले बताउनुभयो । अहिले परिवारसँगै बसेर आफ्नै गाउँमा काम गर्न पाउँदा सन्तुष्ट हुनुहुन्छ ।
क्षेत्रीले छोरीलाई स्नातक तहसम्म अध्ययन गराउनुभएको छ । छोरी हाल जापानमा हुनुहुन्छ भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् । विदेशमा गरेको मेहनत र अनुभव आफ्नै गाउँमा उपयोग गर्न सके स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने क्षेत्रीको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै जीवन बिताउन पाउँदा उहाँ सन्तुष्ट हुनुहुन्छ ।

