फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ब्रेक थ्रु गरिँदै
हेटौँडा । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ब्रेक थ्रु गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभएको छ ।उहाँका अनुसार राष्ट्रपति पौडेल बिहान साढे ९ बजे हेलिकप्टरमार्फत महादेवटार पुग्नुहुनेछ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । आज ब्रेक थ्रु हुन लागेको सुरुङको लम्बाइ ३ दशमलव ४४५ किलोमिटर रहेको छ । यसअघि अर्को सुरुङको ३ दशमलव ४८६ किलोमिटर खण्डको गत भदौमै ब्रेक थ्रु भइसकेको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन छन् । आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरी काम अघि बढाइएको छ । तीमध्ये प्याकेज १ देखि १० सम्मका विभिन्न खण्ड निर्माण तथा कार्यान्वयनको चरणमा रहेका छन् ।

