डा. जानकीकुमारी तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

काठमाडौं, २७ असार – निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि आयोगको वरियताअनुसार आयुक्त तुलाधरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेकी हुन्।

भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय संवैधानिक आयोगका रूपमा रहेको निर्वाचन आयोगमा हाल डा. तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्रै कार्यरत छन्।

यसअघि तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते सकिएको थियो भने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल २०७९ फागुन ४ गते अवकाश भएका थिए।

यसबीच, संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।

उक्त सिफारिसमाथि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया अघि बढाइसकेको छ। समितिले सिफारिस भएका तीनै जनाविरुद्ध प्राप्त हुने उजुरीका आधारमा संसदीय सुनुवाइ गर्नेछ।

Facebook Comments Box