बुद्धनगरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको अवस्था गम्भीर
काठमाडौं, २७ असार – काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ। काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा शनिबार बिहान ४५ वर्षीय राउतले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
वीर अस्पतालको बर्न आईसीयूमा उनको उपचार भइरहेको छ। उपचारमा संलग्न डा. पीयूष दाहालका अनुसार राउतको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ। ‘उहाँको अवस्था गम्भीर छ। शरीरको करिब ६० प्रतिशत भागमा जलन भएको छ,’ डा. दाहालले भने।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनाको कारण पारिवारिक विवाद देखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले राउत श्रीमती र छोरासँग बस्दै आएको र घटनाका बेला उनीहरू घरमा नरहेको बताए।
‘पारिवारिक विवादको कोणबाट अनुसन्धान भइरहेको छ। घटनाअघि उनको छोरासँग केही छलफल भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ एसपी भट्टराईले भने।
यससँगै पछिल्ला तीन दिनमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटना तीनवटा पुगेका छन्। बिहीबार मुगुका गणेश नेपालीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग भएको विवादपछि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो।
यस्तै, शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ।

