सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन चिकित्सकको सुझाव

काठमाडौँ, १० साउन – वातावरणीय प्रदूषण, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या तीव्र रूपमा बढिरहेको तिलगङ्गा आँखा अस्पतालकी रिफ्र्याक्टिभ सर्जरी युनिट प्रमुख डा. बन्दना खनालले बताएकी छन्।

उनका अनुसार सुक्खा आँखाको समस्या हुँदा आँखा पोल्ने, बिझाउने, रातो हुने, चिलाउने र धमिलो देखिने जस्ता लक्षण देखिन्छन्। यसले दैनिक जीवनमा असहजता पैदा गर्न सक्छ।

“सुक्खा आँखाको मुख्य कारण आँशुको उत्पादनमा कमी वा आँशुको चाँडो वाष्पीकरण हुनु हो,” डा. खनालले भनिन्, “धुवाँ, धुलो, प्रदूषण, एसी वा फ्यानमा लामो समय बस्दा र धुम्रपानका कारण पनि यो समस्या देखिन सक्छ।”

उनले मोबाइल, कम्प्युटर र ल्यापटप जस्ता डिजिटल उपकरण प्रयोग गर्दा आँखा झिम्क्याउने दर कम हुने बताए, जसले आँखाबाट आँशु चाँडो सुक्ने गर्छ। विशेष गरी गेम खेल्दा वा लामो समय निरन्तर स्क्रिनमा हेर्दा यो अवस्था झनै बढ्ने उनले उल्लेख गरिन्।

डा. खनालले यस्तो अवस्थाबाट जोगिन हरेक २०–२५ मिनेटमा ब्रेक लिने, केही समय टाढा हेर्ने र कम्तीमा २०–२५ पटक आँखा झिम्क्याउने अभ्यास गर्न सुझाव दिइन्।

उनले भनिन्, “आँखा सुक्न थालेको अनुभव भए लुब्रिकेटिङ ड्रप्स प्रयोग गर्न सकिन्छ तर समस्या लामो समय रहिरहेमा विशेषज्ञ चिकित्सकसँग परामर्श अनिवार्य छ।”

उनका अनुसार अधिकांश बिरामी सामान्यदेखि मध्यम लक्षण लिएर आउँछन् तर कहिलेकाहीँ यो समस्या बाथरोग, थाइराइड, वा हर्मोन सप्लिमेन्ट जस्ता अन्य स्वास्थ्य अवस्थाबाट पनि हुन सक्छ, जसमा केवल ड्रप्सले समाधान नहुने भएकाले सामान्यीकरण नगरी उपचार खोज्नुपर्छ।

“सुक्खा आँखाको लक्षण देखिएपछि आत्तिनु आवश्यक छैन तर लापरवाही गर्नु हुदैन,” डा. खनालले भनिन्, “समयमै सावधानी अपनाउँदा समस्या गम्भीर बन्ने जोखिम टार्न सकिन्छ।”

Facebook Comments Box