प्रतिनिधिसभामा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत

काठमाडौं, २३ फागुन – प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा आगामी पाँच वर्षका लागि संघीय संसदमा सीमित दलहरूको मात्र प्रतिनिधित्व हुने संकेत देखिएको छ। हालसम्मको मतपरिणामअनुसार छ वटा दल प्रतिनिधिसभामा पुग्ने सम्भावना देखिएको हो।

प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठूलो शक्तिका रूपमा उदाउँदै दुई तिहाइको दिशातर्फ अघि बढेको देखिन्छ। रास्वपाले प्रत्यक्षतर्फ ३८ सिट जितिसकेको छ भने ८१ स्थानमा अग्रता कायम गरेको छ।

नेपाली कांग्रेसले पाँच स्थानमा जित हासिल गर्दै ११ क्षेत्रमा अग्रता लिएको छ। नेकपा (एमाले)ले दुई सिट जितेको छ भने आठ क्षेत्रमा अग्रता कायम गरेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई सिट जित्दै थप आठ क्षेत्रमा अग्रता लिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक सिटमा जित नजिक पुगेको छ भने श्रम संस्कृति पार्टी चार क्षेत्रमा अग्रता लिइरहेको छ। १६१ निर्वाचन क्षेत्रको मतगणना भइरहँदा २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा पुगेका केही दल यसपटक संसदमा पुग्ने सम्भावना न्यून देखिएको छ।

समानुपातिकतर्फ पनि रास्वपाले स्पष्ट अग्रता बनाएको छ। समाचार तयार पार्दासम्म दुई लाख १८ हजार ९७१ मत गणना हुँदा रास्वपाले एक लाख १९ हजार ३१५ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ३६ हजार ११९, नेकपा (एमाले)ले २६ हजार ८७७, राप्रपाले १० हजार ४९४, नेकपाले नौ हजार १४ र श्रम संस्कृति पार्टीले छ हजार १२८ मत प्राप्त गरेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट १२ दल संसदमा पुगेका थिए। त्यतिबेला सात दलले राष्ट्रिय दलको मान्यता पाएका थिए भने पाँच दलले राष्ट्रिय मान्यता नपाए पनि प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए।

त्यसबेला नेपाली कांग्रेस, नेकपा (एमाले), तत्कालीन नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका थिए।

तत्कालीन एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी राष्ट्रिय दल नबने पनि संसदमा पुगेका थिए। पछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भई नेकपा गठन भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी जनता समाजवादी पार्टीमा समाहित भएको छ।

यसपटक भने जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको संसदमा उपस्थिति नहुने देखिएको छ।

गत निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी १२ सिट जितेको थियो। सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच गरी छ सिट हासिल गरेको थियो।

त्यस्तै समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाए पनि लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षतर्फ चार र नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेका थिए भने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट प्राप्त गरेका थिए।

मोरङ–५ बाट योगेन्द्र मण्डल, सर्लाही–४ बाट अमरेशकुमार सिंह, रौतहट–२ बाट किरणकुमार साह, रौतहट–३ बाट प्रभु साह र बर्दिया–२ बाट लालवीर चौधरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

यसपटक भने महावीर पुन बाहेक अन्य स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना कम देखिएको छ। प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि संसदमा पुग्ने सम्भावना न्यून रहेको प्रारम्भिक मतपरिणामले देखाएको छ।

Facebook Comments Box