नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं, २३ फागुन – भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मोदीले नेपाली जनताले लोकतान्त्रिक अधिकारको उत्साहपूर्ण प्रयोग गरेको देख्दा आफूलाई खुसी लागेको उल्लेख गरेका छन्। “यो ऐतिहासिक कोशेढुङ्गा नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण हो,” उनले आफ्नो सन्देशमा भनेका छन्।

नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेका बेला नयाँ दिल्लीबाट आएको यो सन्देशलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। मोदीले भारत सधैँ नेपालको नजिकको मित्र र छिमेकीका रूपमा रहने विश्वास व्यक्त गरेका छन्।

उनले भारत नेपालका जनता तथा नयाँ बन्ने सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै साझा शान्ति, प्रगति र समृद्धिको लक्ष्य हासिल गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पछिल्ला वर्षहरूमा नेपाल र भारतबीच कनेक्टिभिटी, ऊर्जा व्यापार तथा विकास साझेदारीका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ। कूटनीतिक अधिकारीहरूका अनुसार मोदीको पछिल्लो सन्देशले नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति भारतको समर्थन र आगामी सहकार्यलाई थप सुदृढ बनाउने संकेत गरेको छ।

Facebook Comments Box