निर्वाचनमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद

काठमाडौँ, १३ फागुन – निर्वाचन आउन आठ दिन बाँकी रहँदा फरक राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध गरेमा कडा कारबाही हुने चेतावनी दिइएको छ । निर्वाचन आयोगका अनुसार सङ्घीय कानुन बमोजिम निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याएमा रु दुई लाखसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ । पछिल्लो समय केही दल वा उम्मेदवारको चुनावी कार्यक्रम बिथोल्ने, अवरोध सिर्जना गर्ने तथा थुनछेक गर्ने प्रयास भएको गुनासो र उजुरी प्राप्त भएको आयोगको भनाइ छ । विभिन्न सञ्चारमाध्यममार्फत पनि यस्ता घटनाबारे जानकारी आएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगद्वारा जारी निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलालाई बिथोल्न नहुने स्पष्ट उल्लेख छ । साथै निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्ने उद्देश्यले अवरोध गर्न नपाइने व्यवस्था छ ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवालाको भएको आयोगले जनाएको छ । कानुनविपरीतका गतिविधि नगर्न र निर्वाचन प्रक्रिया सहज रूपमा सम्पन्न हुन सहयोग गर्न आयोगले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

Facebook Comments Box