२ वर्षदेखि रोकिएको नेपाल–चीन सिधा उडान जुन पहिलो साताबाट हुने

काठमाडौं, ८ जेठ – २ वर्षदेखि रोकिएको नेपाल–चीन सिधा उडान जुन पहिलो साताबाट हुने भएको छ। चीनले कोभिड महामारीको कारण नेपालबाट हुने सिधा उडान रोक्दै आएकोमा उडान खुल्ला गरेको हो।

२ वर्षदेखि कार्गो उडान हुँदै आएकोमा अब नियमित उडान हुने भएको छ। नेपाल चिन उडान भर्ने हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग चीन उडानको लागि तालिका पाएको छ।

‘चीनबाट नेपाल उडान गर्ने एयरलाइन्सलाई हामीले उडान तालिका दिएकै थियौँ तर चीनमा यात्रु लैजाने अनुमति नहुँदा उडान हुनसकेको थिएन’, नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘हिमालय एयरलाइन्सले चीनमा नियमित प्यासेन्जर उडानको अनुमति पाएसँगै यहाँबाट उडान तालिका स्वीकृत गरेको छ।’

चीनले कोभिड महामारी नियन्त्रणमा रहेका देशमा जुन पहिलो साताबाट उडान भर्ने नीति लिएको छ। सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइनाले सेलेक्टेड क्षेत्रमा उडान अनुमति दिने निर्णय गरेको छ। यसमा नेपालमा पनि उडान नियमित खोल्ने प्राधिकरणले विश्वास लिएको छ।

‘हिमालय एयरलाइन्सले नियमित उडानको लागि तालिका पाएसँगै नेपाल उडान गर्ने चिनियाँ कम्पनीले पनि औपचारिक जानकारी गराउलान्’, ती अधिकारीले भने, ‘चीनले कोभिड नियन्त्रणमा रहेका देशमा जुनबाट उडान गर्ने निर्णय गरेको छ। नेपालमा पनि उडान गर्छ।’

२ वर्षमा नेपाल–चीनबीच थुप्रै चार्टर्ड उडान भए पनि नियमित उडान हुनसकेका छैनन्। ‘चीनले उडान अनुमति नदिँदा प्राधिकरणसँग उडान तालिका माग गरेको थिएन’, उनले भने, ‘हिमालय एयरलाइन्सले २४ मेबाट नेपाल चीन उडानको लागि प्राधिकरणबाट उडान अनुमति पाएको छ।’

हिमालय एयरलाइन्सले काठमाडौं–कुनमिङ सिधा उडान तालिका प्राधिकरणबाट लिएको छ। हिमालय एयरलाइन्सले मे अन्तिमबाटै कुनमिङ उडानको लागि बुकिङ खुल्ला गरिसकेको छ।

Facebook Comments Box