अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधी : पाँच हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

वाशिङ्टन, १२ फागुन – अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण पाँच हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् तथा हवाई सेवामा व्यापक अवरोध देखिएको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्डम्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात मापन गरिएको छ । न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्र १९ इन्चभन्दा बढी हिउँ जमेको बीबीसीले जनाएको छ । न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको भन्दै राज्य निकायले चेतावनी जारी गरेका छन् ।

पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन् । विशेषगरी न्यु जर्सी र म्यासाचुसेट्स बढी प्रभावित भएका छन् । हिमआँधीको चेतावनी नर्थ क्यारोलिनादेखि मेनसम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका केही क्षेत्रमा पनि सतर्कता अपनाइएको छ ।

मौसम विभागले मंगलबार बिहानसम्म थप १ देखि २ फिटसम्म हिउँ पर्न सक्ने अनुमान गरेको छ । सबैभन्दा बढी हिमपात रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा ३३ इन्च मापन गरिएको छ, जसले सन् १९७८ को फेब्रुअरीमा कायम २८.६ इन्चको कीर्तिमान तोडेको जनाइएको छ । अमेरिकाको सबैभन्दा सानो राज्य रोड आइल्याण्डका लागि यो अहिलेसम्मकै ठूलो हिमपात मानिएको छ ।

रोड आइल्याण्ड र छिमेकी कनेक्टिकटमा अत्यावश्यक बाहेकका यात्रा प्रतिबन्ध लगाइएको छ । म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी म्यासाचुसेट्समा गैर–आवश्यक सवारी सञ्चालनमा रोक लगाउँदै प्रमुख राजमार्गमा सवारीको गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिएकी छन् । ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा जोखिमपूर्ण भएको भन्दै सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ ।

म्यासाचुसेट्समा करिब तीन लाख उपभोक्ता विद्युत् विहीन भएका छन् । बार्नस्टेबल काउन्टीअन्तर्गत पर्ने केप कोड क्षेत्रमा ८५ प्रतिशत उपभोक्ता प्रभावित भएको जनाइएको छ । उडान ट्र्याकिङ साइटका अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी पाँच हजार ६७५ भन्दा बढी उडान रद्द भएका छन् ।

ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान रद्द भएका छन् । साथै लोगन अन्तर्राष्ट्रिय विमानस्थल, नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलफिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अधिकांश उडान प्रभावित भएका छन् ।

कनेक्टिकट र न्यु जर्सीमा रुख ढल्ने तथा हाँगा भाँचिने जोखिम बढेकाले सडक अवस्था थप जोखिमपूर्ण बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ । प्रोभिडेन्समा हिउँ पन्छ्याउने सवारीलाई अवरोध पुर्‍याएको भन्दै ३०० भन्दा बढी गाडी क्रेनमार्फत हटाइएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

Facebook Comments Box