आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दियाे
काठमाडौँ, ७ फागुन – ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो।
नेपालका कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ४७ बल खेल्दै ८३ रन बनाए। यसअघि आसिफ शेस शून्य र कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए। लोकेश बम ६ रनमा नटआउट रहे।
त्यस्तै गरि ओपनर कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् ।
सन् २०२१ मा नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिजबाट डेब्यु गरेका कुशलले ८ खेल खेल्दा नै यो उपलब्धि हासिल गरेका हुन् । कुशल टी-२० आईमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बने । यसअघि पारस र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । पूर्व कप्तान पारसले पनि एक शतक र चार अर्धशतक प्रहार गरेका थिए ।

