‘गौरमा अनिश्चितकालीन कर्फ्यु’
रौतहट, ९ फागुन – रौतहटको गौरमा कर्फ्यू आदेश जारी गरिए पनि आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएर नेपाली सेना समेत परिचालन गरे पनि भित्री बस्तीहरूमा तनाव कायम रहेको छ।
भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एक स्कुटरमा आगजनी गरिएको छ। यसअघि प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरिसकेका छन्। सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिए पनि भित्री भागहरूमा स्थिति अझै तनावग्रस्त रहेको स्थानीय स्रोतले जनाएको छ।
गौर नगरपालिका–६ सनगढा गाउँमा दुई समुदायबीच भएको विवाद उग्र बन्दै गएपछि तनाव सुरु भएको हो। मुस्लिम समुदाय मस्जिदमा प्रार्थनामा रहेका बेला हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद चर्किएको बताइएको छ। त्यसपछि वडा नम्बर ४, ५ र ६ मा झडपसमेत भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही सवारी साधनमा आगजनी हुनुका साथै घरमा तोडफोड गरिएको प्रहरीले जनाएको छ। घटनामा केही व्यक्ति सामान्य घाइते भएका छन्।
थप हिंसा फैलिन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो। प्रशासनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्।

