मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम, ९ फागुन – धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मालाखेती का अनुसार दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार सुप प्र०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओलीको मृत्यु भएको छ। सोही मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुर का २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उनको उपचार जारी रहेको छ।

त्यसैगरी सुप प्र०१–००९प७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार अन्दाजी २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल उच्च गतिमा सञ्चालन गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनास्थलको अवस्थाले सवारी साधन तीव्र गतिमा रहेको संकेत गरेको र थप अनुसन्धान भइरहेको जनाइएको छ। मृतक ओली गोदावरीमा विवाह समारोहमा सहभागी भएर धनगढीतर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए।

Facebook Comments Box