निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी, ९ फागुन – प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ।

निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिन आज लुम्बिनी प्रदेशमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबै निकायको साझा जिम्मेवारी भएकाले त्यसअनुसार प्रभावकारी तयारी गर्न निर्देशन दिनुभएको हो। बैठकपछि प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी दिनुभयो।

आज बिहान बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित बैठकमा प्रधानमन्त्री कार्कीले प्रदेशको समग्र निर्वाचन तयारी, सुरक्षा अवस्था र चुनौतीबारे जानकारी लिनुभएको थियो। उहाँले जिल्लास्थित सुरक्षा समितिलाई सम्भावित चुनौती पहिचान गरी त्यसअनुसार सुरक्षा रणनीति तयार गरेर कार्यान्वयन गर्न निर्देशन दिनुभएको प्रमुख सचिव काप्रीले बताउनुभयो।

मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बलको समन्वयमा एकीकृत सुरक्षा योजना लागू गरिने जानकारी दिइएको छ। प्रदेशका १२ वटै जिल्लामा निर्वाचन कमाण्ड सेलसँग समन्वय गरेर आवश्यक सुरक्षा योजना तयार गरिएको पनि बैठकमा जानकारी गराइएको थियो।

बैठकमा सहभागी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले खुला सिमाना, भौगोलिक अवस्था, सञ्चार पहुँच र सामाजिक विविधताका कारण देखिन सक्ने चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रदेशमा पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४१४ किलोमिटर खुला सिमाना प्रमुख सुरक्षा चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सूचनाका आधारमा आवश्यक सुरक्षा रणनीति तय गरिने र स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरेर निर्वाचन तयारीलाई प्रभावकारी बनाइने प्रमुख सचिव काप्रीले बताउनुभयो।

प्रधानमन्त्रीको निर्देशनले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई थप उत्साह र प्रतिबद्धता मिलेको प्रदेश सरकारको भनाइ छ।

Facebook Comments Box