चैतमा २३ स्थानमा बर्डफ्लु संक्रमण, एक लाखभन्दा बढी कुखुरा–हाँस नष्ट

काठमाडौँ, २३ चैत – यस वर्ष चैत महिनामै देशका २३ स्थानमा बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभाग का महानिर्देशक डा. उमेश दाहाल का अनुसार चैतअघि भने यस वर्ष बर्डफ्लु देखिएको थिएन। पहिलोपटक चैत ६ गते मोरङ को सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैसाथ संक्रमण पुष्टि भएको थियो।

विभागका अनुसार सुनसरी मा १२, मोरङ मा ७, झापा मा २, चितवन मा १ र काठमाडौँ मा १ स्थानमा संक्रमण देखिएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा करिब १ लाख ४ हजार कुखुरा तथा हाँस नष्ट गरिएको जनाइएको छ।

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय परिसरका कागमा समेत बर्डफ्लु देखिएको थियो। संक्रमण फैलिएको कारण सुनसरी, झापामोरङ मा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।

“संक्रमित क्षेत्रलाई बर्डफ्लु क्षेत्र घोषणा गरी आकस्मिक रोग अन्वेषण टोलीमार्फत पशुपक्षी नष्ट गर्ने काम गरिएको छ,” महानिर्देशक दाहालले भन्नुभयो, “हामीले अपनाएका उपायका कारण संक्रमण थप फैलिएको छैन।”

सरकारले बर्डफ्लु पुष्टि भएका क्षेत्रमा कुखुरा तथा हाँस नष्ट गरी किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ।

Facebook Comments Box