आजदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन
काभ्रेपलाञ्चोक, १ असोज – यस वर्षको मनसुन सुरु भएसँगै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४ घण्टा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्य हुँदै गएको र दसैं–तिहार जस्ता चाडपर्व नजिकिएकाले यात्रुको सहजताका लागि राजमार्ग २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कार्यालयले जारी गरेको सूचनाअनुसार गत असार पहिलो सातादेखि काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्म राति १२ घण्टा सवारी सञ्चालनमा रोक लगाइएको थियो । बाढी–पहिरोको जोखिमका कारण पटक–पटक रोक थपिँदै आएकोमा पछिल्लो पटक भदौ १६ गतेदेखि १५ दिनका लागि रोक लगाइएको थियो ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि राजमार्ग अस्थायी रूपमा मात्र सञ्चालनमा आएको थियो । सो घटनामा राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुगेको छ ।
कार्यालयका अनुसार स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । पूर्वी नेपाललाई छोटो दूरीमार्फत राजधानीसँग जोड्ने यो राजमार्गमा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छन् ।

