इरानद्वारा अमेरिका र इजरायलसँगको द्वन्द्व अन्त्य गर्न शान्ति प्रस्ताव

तेहरान , २४ चैत – इरान ले अमेरिकाइजरायल सँग जारी द्वन्द्वलाई ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित शान्ति प्रस्ताव अघि सारेको छ। इरानको सरकारी समाचार एजेन्सी आईआरएनए का अनुसार उक्त प्रस्ताव पाकिस्तान मार्फत पठाइएको हो।

यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावलाई करिब दुई सातासम्म समीक्षा गरेपछि इरानी नेतृत्वले आफ्नै सर्तसहितको प्रस्ताव अघि सारेको बीबीसी ले जनाएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई समयसीमा दिएका थिए। सो समयसीमाभित्र मार्ग नखुलाए इरानका पूर्वाधारमा आक्रमण गर्ने चेतावनी समेत दिएका थिए।

म्याद सकिनु अघि नै इरानले शान्ति सन्देश सार्वजनिक गरेको हो। अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाई ले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भएको पुष्टि गरेका थिए। तर इरानले अमेरिकाको १५ बुँदे योजना अस्वीकार गर्दै युद्धविरामको अवधारणालाई ‘विगतका अनुभव’ का आधारमा स्वीकार्य नभएको जनाएको छ।

यसको सट्टा दीर्घकालीन समाधान आफ्नै सर्तमा खोजिनुपर्नेमा जोड दिएको छ। इरानले प्रस्तुत गरेको प्रस्तावमा क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन, पुनर्निर्माण र प्रतिबन्ध हटाउनेजस्ता विषय समेटिएको जनाइएको छ।

Facebook Comments Box