पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ८ फागुन – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। साथै तराईका केही स्थानमा हुस्सु लागेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशसहित ती प्रदेशका बाँकी भाग तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने जनाइएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हुस्सु, तुवाँलो तथा हिमपातको पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास गर्ने तथा ती भेगमा आवतजावत गर्नेहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

