उदयपुरमा भाइरल ज्वरोको प्रकोप, दैनिक पाँच सयसम्म बिरामी अस्पताल धाउने
उदयपुर, ८ भदौ
उदयपुर जिल्लामा पछिल्लो समय भाइरल ज्वरोको प्रकोप तीव्र बनेको छ । त्रियुगा नगरपालिका क्षेत्रसँगै आसपासका विभिन्न स्थानमा भाइरलका बिरामी बढेपछि जिल्ला अस्पतालमा उपचारका लागि आउनेहरूको भीड बढ्दै गएको छ ।
जिल्ला अस्पतालका प्रमुख डा. वीरेन्द्र मण्डलका अनुसार निरन्तर वर्षा भएपछि जमिन र खानेपानी प्रदूषित हुँदा रोग फैलन थालेको हो । अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले अहिले दैनिक करिब ४५० देखि ५०० जना बिरामी उपचारका लागि आउने जानकारी दिनुभयो ।
आकस्मिक, ओपीडी र अन्य कक्ष सबैमा बिरामीको चाप बढेपछि उपचारका लागि बेड समेत अभाव हुन थालेको अस्पताल प्रशासनले जनाएको छ । साउनको अन्तिम हप्तादेखि देखिन थालेको भाइरल भदौ सुरु भएपछि तीव्र गतिमा फैलिएको छ । अहिले जिल्ला अस्पतालसँगै निजी अस्पताल, क्लिनिक र स्थानीय स्वास्थ्यचौकीमा समेत बिरामीको चाप असामान्य रूपमा बढेको छ ।
त्रियुगा नगरपालिकाका विभिन्न वडासहित जोगीदह, मोतिगडा, खैजनपुर, चुहाडे, शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट र लक्ष्मीपुर क्षेत्रमा भाइरलको प्रभाव बढी देखिएको वडाध्यक्ष नवीनकुमार राईले जानकारी दिनुभयो । विद्यालय जाने उमेरका बालबालिकासमेत प्रभावित हुन थालेका छन् ।
यस्तै बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरी र चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई, बेलही र देवधार क्षेत्रहरूमा पनि भाइरल फैलिएको समाजसेवी देवनारायण चौधरीले बताए । स्वास्थ्यकर्मीहरूले प्रदूषित पानी र खानपानप्रति सचेत रहन, सफाइमा ध्यान दिन र लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि सम्पर्क गर्न स्थानीयलाई आग्रह गरेका छन् ।

