सुदूरपश्चिम, कर्णाली र कोशीमा मतपत्रसहित निर्वाचन सामग्री ढुवानी सम्पन्न
काठमाडौँ, ९ फागुन – निर्वाचन आयोग ले देशभरका निर्वाचन क्षेत्रमा मतपत्रसहित आवश्यक सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको जनाएको छ। आयोगका अनुसार हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ।
अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री पठाउने काम जारी रहेको आयोगले जानकारी दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइएको छ। आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो। त्यसयता सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा ढुवानी गरिएको जनाएको छ।
वाग्मतीसहित अन्य प्रदेशमा पनि मतपत्र तथा निर्वाचन सामग्री ढुवानी कार्य जारी रहेको आयोगले जनाएको छ। राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा समेत केही दिनभित्र सामग्री पु¥याइने तयारी रहेको बताइएको छ। आयोगका अनुसार मतपत्रबाहेक अन्य निर्वाचन सामग्रीको ढुवानी सम्पन्न भइसकेको छ। निर्वाचनका लागि ५१ प्रकारका सामग्री आवश्यक पर्ने उल्लेख गरिएको छ।
मतपत्र छपाइ कार्य तोकिएको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि सुरु गरिएको थियो। सो क्रममा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरिएको थियो।
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म सम्पन्न भएको आयोगले जनाएको छ। उक्त प्रणालीअन्तर्गत दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिएको थियो।

