तीन महिनामा विदेशस्थित नेपालीबाट पाँच खर्ब ५३ अर्बभन्दा बढी विप्रेषण
काठमाडौँ, १६ मंसिर – चालु आर्थिक वर्षका पहिलो तीन महिनामा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा कुल विप्रेषण ३५.४ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढ्दै रु ४ खर्ब ८ अर्ब ७७ करोड थियो। चालु वर्षको पहिलो महिना (साउन) मा विप्रेषण २९.९ प्रतिशतले बढेर रु १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको थियो। भदौ महिनामा पनि यस्तो आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ५२ अर्ब ८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ।
पहिलो त्रैमासिकमा नेपालको चालु खाता रु २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ। शोधनान्तर खातेमा पनि रु २ खर्ब ६४ अर्ब ३ करोडको सकारात्मक स्थिती देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता र शोधनान्तर खातामा क्रमशः रु १ खर्ब १५ अर्ब ३६ करोड र रु १ खर्ब ८४ अर्ब ९९ करोडले बचत थियो।
यसै अवधिमा कूल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोडमा पुगेको छ। वस्तु आयात पनि १९.८ प्रतिशतले बढ्दै रु ४ खर्ब ६८ अर्ब ८ करोड पुगेको छ। परिणतिमा, हाल समीक्षा अवधिको कूल व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ९५ अर्ब ३० करोडमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

