भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको ज्यान गयो

कर्णाली, २३ पुस – सुर्खेतको भेरीगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार भेरीगङ्गा नगरपालिका–५ गेरवानीकी ५७ वर्षीया गङ्गा सारुको बाघको आक्रमणबाट ज्यान गएको हो ।

मृतकका श्रीमान् नरबहादुर सारुका अनुसार गङ्गा सारु मङ्गलबार बिहान करिब ८ बजे कसैलाई जानकारी नदिई घरबाट बाहिर निस्केकी थिइन् ।

आज बिहान करिब ९ बजेतिर उनका दुई नातिनी घरदेखि करिब १०० मिटर उत्तरतर्फ रहेको सालघारीमा बाख्राका लागि घाँस काट्न जाँदा सारुले लगाएका कपडा र चप्पलसहित रगत देखेपछि खोजी सुरु गरिएको थियो ।

त्यसक्रममा करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको फेला परेको जानकारी बिहान १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबईमा दिइएको थियो । सूचनापछि प्रहरी, नेपाली सेना, वनका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिसहित २०–२५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

खोजतलासका क्रममा टाउको भेटिएको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भाग फेला परेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक शाहीका अनुसार बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाइसकेको अवस्थामा शव फेला परेको थियो ।

यसैबीच, सुर्खेत प्रहरीले आजै लेकबेंसी नगरपालिका–९ का ३८ वर्षीय धनबहादुर रावतलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ ।

Facebook Comments Box