जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही, २३ पुस – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष पुग्नुभएको छ। लाउलाउँ–खाउखाउँ उमेरमा उहाँ अहिले चार सदस्यीय परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ। बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवार पाल्नु उहाँको दैनिकी बनेको छ।

पचहत्तर वर्षीया जिजुहजुरआमा अतिरुपा, ६० वर्षीया हजुरआमा फूलमाया र १५ वर्षीया बहिनी बिविकाको सम्पूर्ण जिम्मेवारी विवेककै काँधमा छ। चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेक र बहिनी टुहुरो बन्नुपर्‍यो। मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किनुभएका विवेकले गाउँ नजिकैको आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभयो। तर जन्मदर्ता नभएकै कारण विद्यालयमा भर्ना हुन नसकेपछि उहाँको पढाइ बीचमै रोकियो।

चुरेको काखमा करिब १० धुर ऐलानी जग्गामा टिनले छाएको सानो छाप्रोमा विवेकको परिवार बसोबास गर्दै आएको छ। टाउको लुकाउने छाप्रोबाहेक सम्पत्तिका नाममा केही छैन। बाल्यकालदेखि नै सङ्घर्षपूर्ण जीवन बिताउनुभएका विवेकले गाउँकै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गर्नुभयो। अहिले उहाँ कुशल ट्र्याक्टर चालक बनिसक्नुभएको छ। तर जन्मदर्ता र नागरिकता नहुँदा सीप हुँदाहुँदै पनि त्यसको उपयोग गर्न नपाएको पीडा उहाँमा छ।

“धेरै दुःख गरेर सीप सिकेँ,” विवेकले भन्नुभयो, “लाइसेन्स बनाउन पाए यही कामबाट परिवार पाल्थेँ। कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरै हुने भयो।”

विवेकका जिजुहजुरआमा अतिरुपाका अनुसार विवेककी आमाले सानैमा छाडेर गएकी थिइन् भने बुबाको पनि अत्तोपत्तो छैन। “केही समयअघि ज्वाइँ आएर गएका थिए,” उहाँले भन्नुभयो, “सोधखोज गर्दा उहाँकै पनि कुनै कागजात रहेनछ। त्यसपछि फेरि हराउनुभयो।” विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको उहाँको भनाइ छ। कागजात भएका आफन्त नहुँदा दुई पनाति–पनातिनीको भविष्य नै अन्धकार बनेको भन्दै उहाँले दुःख पोख्नुभयो।

विवेककी हजुरआमा जन्मजातै फरक क्षमता भएकी हुनुहुन्छ र बोल्न सक्नुहुन्न। जिजुहजुरआमा पनि वृद्ध भइसक्नुभएको छ। बहिनीको भविष्यको चिन्ताले विवेकलाई सधैँ सताइरहन्छ। ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने उहाँको सपना छ। तर जन्मदर्ता र नागरिकता नहुँदा आफू र बहिनी दुवै अनागरिकको अवस्थामा बाँच्नुपरेको उहाँको गुनासो छ।

एकपटक स्थानीयवासीको सल्लाहमा जन्मदर्ताका लागि वडा कार्यालय पुगे पनि कुनै प्रमाण कागजात नभएको भन्दै फर्किनुपरेको विवेक बताउनुहुन्छ। उहाँले बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनास्थित पटौना आधारभूत विद्यालयमा जेनतेन पढाइरहनुभएको छ। कक्षा ७ मा अध्ययनरत बिविकालाई कक्षा ८ मा भर्ना गर्न जन्मदर्ता अनिवार्य माग गरिएको छ। “कसरी जन्मदर्ता बनाउने थाहा छैन,” विवेकले भन्नुभयो, “बहिनीले पनि म जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने डर छ।”

अर्कातर्फ परिवार बस्दै आएको बाँसको छाप्रो जीर्ण भएर ढलेपछि अहिले टाउको लुकाउने ठाउँसमेत नभएको उहाँले सुनाउनुभयो। छिमेकीको घरमा शरण लिएर बस्नुपरेको विवेकले ऋणधन गरेर भए पनि एउटा सानो घर बनाउने सपना रहेको बताउनुभयो। तर कुनै कागजात नहुँदा ऋण पाउने आशा समेत नरहेको उहाँको दुखेसो छ।

स्थानीय सुवास श्रेष्ठका अनुसार विवेक निकै इमानदार र मेहनती युवक हुनुहुन्छ र सम्पूर्ण परिवार उनकै भरथेगमा चलिरहेको छ। “पढ्न नपाए पनि ट्र्याक्टर चलाउने सीप सिकेर जीविकोपार्जनको आधार बनाएका छन्,” उहाँले भन्नुभयो, “तर कानुनी प्रक्रियाका कारण जन्मदर्ता नहुँदा उनको मात्र होइन, भावी पुस्ताको भविष्यसमेत अनिश्चित देखिन्छ।”

विवेकको समस्याका विषयमा वडाबाट पहल भइरहेको हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले बताउनुभयो। “नाबालकहरूको जन्मदर्ताका विषयमा वडासचिवसँग नियमित छलफल गर्दै कानुनी प्रक्रियाअनुसार समाधान खोजिरहेका छौँ,” उहाँले भन्नुभयो, “कानुनले दिएको दायराभित्र रहेर उहाँहरूको कागजात बनाउने प्रयास जारी छ।”

Facebook Comments Box