शङ्खरापुर बस दुर्घटनामा चार जनाको ज्यान गयो
काठमाडौँ, २३ पुस – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने २२ जना घाइते भएका छन् । मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन ।
साँझ करिब ६ बजे बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । वनभोज कार्यक्रम सकेर फर्किँदै गरेको उक्त बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूलाई नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पताल र सुष्मा कोइराला अस्पतालमा भर्ना गरिएको छ ।
बसमा करिब ४० जना सवार रहेको जनाइएको छ । ‘नेचर हर्व’ संस्थाका कर्मचारीहरू वनभोजबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

