निराश राजनीतिलाई आशा जगाउने काम एमालेको हो : पोखरेल
दैलेख, २८ माघ – नेपाल कम्युनिष्ट पाटी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ । एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दैै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गर्नुभयो ।
उहाँले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताउनुभयो ।
नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उहाँले कार्यकर्ताका मन जोड्दै कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ एमालेले अग्रसर भएको उल्लेख गर्नुभयो । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताउनुभयो ।