मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके
बाँके, २२ पुस – डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री, डिजिटल तथा सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक संरचना निर्माण, पुनःसंरचना र सौन्दर्यकरणको काम तीव्र रूपमा अघि बढाएको छ। जीर्ण अवस्थामा रहेको कार्यालय परिसरको मर्मतसम्भार, संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कार्यको औपचारिक शुभारम्भ गरिएको हो।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार चालु आर्थिक वर्षदेखि कार्यालयलाई नयाँ र आकर्षक बनाउने उद्देश्यले आवश्यक मर्मतसम्भार तथा भौतिक संरचना निर्माण सुरु गरिएको हो। “हालको संरचना कर्मचारी सङ्ख्या र सेवाग्राहीको चापअनुसार पर्याप्त छैन,” उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण र भौतिक सुधारपछि सेवा प्रवाह अझ छरितो, व्यवस्थित र प्रभावकारी हुने विश्वास लिएका छौँ।”
कार्यालयको मुख्य प्रवेशद्वार पुनःसंरचना गर्दै पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ। यसअघि प्रवेशद्वार जीर्ण हुँदा सहायक वैकल्पिक द्वार प्रयोग गर्नुपर्ने अवस्था थियो। रु एक लाखको लागतमा नयाँ प्रवेशद्वार निर्माण भएपछि आवतजावत सहज भएको गुप्ताले जानकारी दिनुभयो। साथै, प्रवेशद्वार अगाडि रहेको खाल्डो पुर्न १० टिपर माटो प्रयोग गरिएको छ।
कार्यालयलाई डिजिटल तथा सूचनामैत्री बनाउने उद्देश्यले दुई वटा डिजिटल बोर्ड स्थापना गरिएको छ। यसैगरी, यसअघि आधा भागमा मात्र सीमित रहेको कार्यालय पर्खाल चालु आर्थिक वर्षमा पूर्ण गरिएको छ। रु १३ लाखभन्दा बढी लागतमा पर्खाल निर्माण सम्पन्न भइसकेको र अब त्यसमा वन, वातावरण र वन्यजन्तु झल्कने चित्र कोरेर थप आकर्षक बनाउने काम भइरहेको गुप्ताले बताउनुभयो।
कार्यालय परिसरभित्र कर्मचारी र सेवाग्राहीका लागि विश्रामस्थलको व्यवस्था गर्दै काठ र खरको गोलघर निर्माण गरिएको छ। साथै, परिसरमा रहेका बाघ, हात्ती लगायतका मूर्तिलाई रङरोगन गरी नयाँ रूप दिइएको छ। दुई कठ्ठा क्षेत्रफलमा फैलिएको फूलबारीको गोडमेल गरी हिउँदे फूल रोपिएको छ भने अव्यवस्थित झाडी कटान गरी परिसरलाई व्यवस्थित बनाइएको छ।
यसैक्रममा डिभिजन वन कार्यालयका लागि तीन तले नयाँ भवन निर्माणको काम पनि औपचारिक रूपमा सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयको वन निर्देशनालयको पहलमा निर्माण हुन लागेको उक्त भवन ३६ कोठाको हुने डिभिजन वन अधिकृत गुप्ताले जानकारी दिनुभयो।
प्रदेश सरकारको बजेट स्रोतबाट निर्माण हुन लागेको यस भवनको अनुमानित कुल लागत रु तीन करोड ५० लाख ६० हजार ६ सय ६७ रहेको छ। सो भवन निर्माणका लागि रु दुई करोड ६० लाख ३४ हजार २ सय ७८ मा ठेक्का सम्झौता गरिएको कार्यालयले जनाएको छ। गत साउन ७ गते ठेक्का सम्झौता सम्पन्न भएको यो भवन विसं २०८४ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
“वन संरक्षण, व्यवस्थापन तथा वनसम्बन्धी सेवालाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्न आधुनिक पूर्वाधार आवश्यक थियो,” गुप्ताले भन्नुभयो, “नयाँ भवन निर्माणपछि हाम्रो कार्यसम्पादन क्षमतामा उल्लेखनीय सुधार आउने विश्वास लिएका छौँ।” निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने उद्देश्यले नियमित अनुगमन तथा प्राविधिक मूल्याङ्कन गरिँदै आएको उहाँले जानकारी दिनुभयो।
कार्यालयका अनुसार नयाँ संरचनाले कर्मचारीका लागि सुरक्षित र सुविधायुक्त कार्यस्थल तथा सेवाग्राहीका लागि सहज र मैत्रीपूर्ण वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले बाँके जिल्लामा वन संरक्षण, जैविक विविधता व्यवस्थापन तथा वनसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

