निर्वाचन आउन ५८ दिन बाँकी : आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौँ, २२ पुस – सूचना प्रविधिको प्रयोगसँगै निर्वाचन आचारसंहिता कार्यान्वयनमा देखिएका चुनौती नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, भ्रमपूर्ण जानकारी र द्वेषपूर्ण अभिव्यक्तिको नियन्त्रणका लागि विशेष संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको हो।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्य अपरिहार्य रहेको औँल्याएको छ। समितिका संयोजक तथा निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधरसहित समितिका पदाधिकारी सहभागी भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
बैठकमा आचारसंहिताको प्रभावकारी परिपालना र कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय, प्रचलित कानुनअनुसारका नियामक निकायको भूमिका, आचारसंहिता कार्यान्वयनका चुनौती तथा नियन्त्रणका उपायबारे विस्तृत छलफल भएको थियो। सहभागी सदस्यहरूले सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक उपायलाई एकसाथ अघि बढाउँदा आचारसंहिता प्रभावकारी रूपमा लागू गर्न सकिने धारणा व्यक्त गरेका थिए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सामाजिक सञ्जाल नियमन अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै आयोगले उपलब्ध सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले प्रविधिको दुरुपयोग रोक्न नियामक, अनुसन्धान तथा अभियोजन गर्ने निकायसँगको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
आयुक्त डा. तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर आचारसंहिता लागू गरिएको जानकारी दिँदै निर्वाचन अवधिमा फैलिने मिथ्या सूचना तथा भ्रमपूर्ण जानकारी न्यूनीकरणप्रति आयोग सचेत रहेको बताउनुभयो। अनुगमन समितिका संयोजक आयुक्त जबराले विगतका कमजोरी सुधार गर्दै यसपटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले निर्वाचनको स्वच्छता र निष्पक्षता सुनिश्चित गर्न सूचना प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौती रोक्न आयोग सबै पक्षसँग सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। बैठकमा निर्वाचन आयोगका पदाधिकारीका साथै विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

