निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी, ११ पुस – मङ्गला गाउँपालिकाका किसानहरूले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने परम्परालाई आज पनि निरन्तरता दिएका छन्। मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले करिब एक शताब्दीअघि भारतको कोलकाताबाट ल्याएको कोलमा प्रत्येक वर्ष पुस र माघ महिनामा उखु पेल्ने चलन कायम छ।

रामबहादुरका छोरा र नातिनातिनाले हलगोरुको सहायतामा कोल घुमाएर उखु पेल्ने पुर्ख्यौली परम्परालाई निरन्तरता दिँदै आएका छन्। उनका नाति ध्रुव खत्रीका अनुसार विद्युतीय उपकरणको विकास भए पनि परम्परागत कोलमा उखु पेल्ने चलन अझै जीवित छ।

“पहिले काठको कोलमा उखु पेल्दा धेरै दुःख भएपछि हजुरबुबाले भारतबाट फलामको कोल ल्याउनुभएको रहेछ,” खत्रीले भन्नुभयो, “एक सय किलोग्राम तौल भएका तीनवटा पाटपुर्जा नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर बोकेर ल्याएका थिए, जसले यस क्षेत्रका किसानलाई ठूलो सहजता दिएको थियो।”

सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले उक्त कोल बोकेर सिम ल्याएका थिए। त्यतिबेला गाउँघरमा गुलियोका लागि उखुको रस पकाएर बनाइने खुदो व्यापक रूपमा प्रयोग हुन्थ्यो र प्रायः हरेक घरमा उखुखेती गरिन्थ्यो।

हाल कोलमा उखु पेलेबापत १० लिटर रस बराबर रु एक सय शुल्क लिइन्छ। उखु पेल्न पालो लगाउनुपर्ने व्यवस्था छ। बाबियाचौर, कुहुँ, अर्मन, बरंजा, बेनी नगरपालिका तथा मालिका गाउँपालिकाबाट समेत किसानहरू उक्त कोलमा उखु पेल्न आउने गरेका छन्।

मङ्गला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलका अनुसार उखुको रसबाट बनाइने खुदो धार्मिक कार्यमा प्रयोग हुने गर्छ। घाँटी दुख्दा मानिसलाई तथा गाईभैँसी बिरामी पर्दा औषधिका रूपमा पनि खुदो खुवाइन्छ। गर्मीमा खुदो मिसाएको पानी पिउँदा शीतल हुने अनुभव उहाँले सुनाउनुभयो। कोल मानिस वा गोरुले तेर्सो काठ घुमाएर चलाइन्छ। गोरु नभएको अवस्थामा मानिसले नै काठ घुमाउने गर्छन्।

फलामको कोलको बीचमा उखु राखेर काठ घुमाउँदा रस झर्ने गर्दछ। कोल चलाउन दुईदेखि तीन जनाको आवश्यकता पर्छ। कोलमा पेलिएको उखुबाट धेरै रस निस्कने र त्यो शुद्ध तथा स्वास्थ्यकर हुने उपभोक्ता राजाराम उपाध्यायले बताउनुभयो। कोलबाट निकालिएको रस पकाएर खुदो बनाइन्छ, जसलाई विवाह, व्रतबन्ध, पूजाआजा तथा देवीदेवतालाई प्रसादका रूपमा प्रयोग गर्ने चलन छ।

Facebook Comments Box