आज साँझदेखि केही प्रदेशमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह
काठमाडौँ, १६ वैशाख – जल तथा मौसम विज्ञान विभाग ले आज साँझदेखि देशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हावाहुरी आज साँझ ५:४५ बजेबाट सुरु भई भोलि बिहान ७:४५ बजेसम्म रहने सम्भावना छ।
प्रभाव पर्ने क्षेत्रमा सुदूरपश्चिम प्रदेश का डडेलधुरा र डोटी, लुम्बिनी प्रदेश का बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेश का धनुषा र बारा तथा कोशी प्रदेश का मोरङसहित आसपासका जिल्लाहरू रहेका छन्। यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले सकेसम्म घरबाहिर ननिस्कन, झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छाना तथा संरचनालाई मजबुत बनाउन र खुला स्थानमा आगो नबाल्न सुझाव दिएको छ। त्यसैगरी अग्ला रुख, कमजोर संरचना, बिजुलीका खम्बा वा तारमुनि नबस्न तथा लत्रिएको तार नछुन पनि सचेत गराइएको छ। विभागले मेघगर्जन, चट्याङ, असिना सहित वर्षा हुने प्रणाली सक्रिय रहेकाले देशका धेरै स्थानमा असर पर्ने सम्भावना रहेको भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

