रौतहटमा नहर अतिक्रमण हटाइँदै, करिब ४ सय घरटहरा प्रभावित हुने
रौतहट, १७ वैशाख – बागमती सिँचाइ आयोजना अन्तर्गत नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाउने तयारी गरिएको छ। आयोजनाले गत चैत २६ गते सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई सात दिनभित्र संरचना हटाउन आग्रह गरेको थियो। तर अटेर गरिएपछि अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको आयोजनाका प्रमुख सन्तोष चौधरी ले जानकारी दिनुभयो।
चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा स्थानीयले करिब २८ वर्षदेखि नहरको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका छन्। अब केही दिनभित्र नगर प्रमुख सञ्जयकुमार काफ्ले, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउने तयारी छ।
नहर क्षेत्रबाट करिब ३५० देखि ४०० घरटहरा हटाइने जनाइएको छ। जलस्रोत तथा सिँचाइ विभागको निर्देशन र सरकारी शासकीय सुधारअन्तर्गत सार्वजनिक जग्गा संरक्षण तथा अवैध कब्जा हटाउने अभियानअनुसार यो कदम चालिएको हो। आयोजनाका अनुसार बागमती देखि गुजरा नगरपालिका धन्सार खोला सम्मको मूल नहर क्षेत्रको १२५ मिटर चौडाइ खाली गर्नुपर्नेछ, जसमा पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर क्षेत्र समेटिन्छ।
यसैबीच, सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना मार्फत थप पानी ल्याई सिँचाइ क्षेत्र विस्तार गर्ने योजना पनि अघि बढाइएको छ। गणेश पौडेल ले बागमती सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताउनुभएको छ।
साथै, नहर क्षेत्रमा बसोबास गर्ने वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यता स्थानीय बासिन्दाले भने आफूहरू वास्तविक सुकुमबासी भएको दाबी गर्दै उचित व्यवस्थापनसहित पुनर्वासको माग गरेका छन्।

