निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कस–कसलाई लाग्छ आचारसंहिता ?
काठमाडौँ, ११ पुस – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता लागू हुने तयारी गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता कुन–कुन निकाय र व्यक्तिलाई लागू हुन्छ भन्ने विषयमा आमचासो बढेको छ।
निर्वाचन आयोगले तयार पारी हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ। यसैगरी, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकाय र तिनका पदाधिकारी, सङ्घीय तथा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी पनि आचारसंहिताको दायरामा पर्नेछन्।
स्थानीय तहको कार्यपालिका तथा सदस्यहरू, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने व्यवस्था प्रस्ताव गरिएको छ। राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई समेत आचारसंहिता लाग्नेछ।
त्यसैगरी, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र तिनका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि आचारसंहिताको दायरामा पर्नेछन्।
मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र त्यसका कर्मचारीलाई पनि पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका प्रतिनिधि तथा कर्मचारीलाई समेत आचारसंहिता लाग्ने व्यवस्था गरिएको छ। यसका साथै निर्वाचन आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ। आयोगले प्रस्ताव गरेको आचारसंहिता आवश्यक सुझाव र सल्लाह समेटेर केही दिनभित्रै लागू गरिने जनाएको छ।

