सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर, ११ पुस – सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमण गम्भीर बन्दै गएको छ। जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ।

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्ला २० दिनमा मात्रै कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ। “तीन वर्षको अवधिमा ३७१ पशुमा रेबिज सङ्क्रमण पुष्टि भइसकेको छ,” उहाँले भन्नुभयो, “यो प्रयोगशालामा परीक्षण गरिएका मात्र तथ्याङ्क हुन्। यस अवधिमा कम्तीमा पाँच जना मानिसको पनि रेबिजकै कारण मृत्यु भएको जानकारी छ, तर धेरै घटना रिपोर्ट नै नहुने भएकाले वास्तविक संख्या अझ बढी हुनसक्छ।”

रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको छ। यसअघि यही वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजबाट मृत्यु भइसकेको थियो। प्रदेशमा सबैभन्दा बढी सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा देखिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा सङ्कलन गरिएका १७० नमूनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ। तीमध्ये कैलालीमा सङ्कलित ९८ नमूनामध्ये ७८ पोजेटिभ देखिएको छ। कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङमा तीन र डोटीमा आठमध्ये छ नमूनामा रेबिज पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ। प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी)ले सङ्कलन गरेको नमूनाको परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिनुभयो।

यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा बहुला कुकुरमा रेबिज पुष्टि भइसकेको थियो। हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय जङ्गली स्याल एकाएक मानव बस्तीमा पस्न थालेका छन्, जसको मुख्य कारण उखुखेती कटानीका कारण प्राकृतिक बासस्थान नष्ट हुनु हो।

“उखु कटानी सुरु भएसँगै स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ,” भट्टले भन्नुभयो, “बासस्थान अभाव भएपछि स्याल आहारको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्रगतिमा फैलिएको छ।”

पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ। कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुनुका साथै ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउनुपर्ने उहाँको सुझाव छ।

असामान्य व्यवहार गर्ने, टोक्ने वा अत्यधिक र्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखालाई तुरुन्त जानकारी गराउनुपर्ने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउनुपर्ने, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहनुपर्ने र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

Facebook Comments Box