इरान ध्वस्त हुने अवस्थाको नजिक : डोनाल्ड ट्रम्प
काठमाडौँ, १६ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खोल्न चाहिरहेको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफू “स्टेट अफ कोल्याप्स” मा पुगेको जानकारी दिएको उल्लेख गर्दै समुद्री आवागमन सामान्य बनाउन तेहरान इच्छुक रहेको बताएका हुन्। उनका अनुसार इरान अहिले आन्तरिक अवस्था सम्हाल्न र तनावबाट बाहिरिन प्रयासरत छ।
तर इरानले भने अमेरिकी दबाब अस्वीकार गरेको छ। इरानका रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाएई–निकले अमेरिका अन्य देशलाई निर्देशन दिने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन्। हाल अमेरिका, इरान र इजरायल बीच युद्धविराम लागू भए पनि दीर्घकालीन समाधानका लागि भइरहेको वार्ताले ठोस निष्कर्ष निकाल्न सकेको छैन।
विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुज बाट ठूलो मात्रामा तेल र ग्यास ढुवानी हुने भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष असर पार्ने गर्छ।
इरानका तीन सर्त, अमेरिकाको अस्वीकार
रिपोर्टहरू अनुसार इरानले वार्ताका लागि तीन प्रमुख सर्त अघि सारेको छ—
- अमेरिका–इजरायलसँगको युद्ध अन्त्य र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी
- समुद्री नाकाबन्दी हटाई होर्मुज पुनः खोल्ने व्यवस्था
- त्यसपछि मात्र परमाणु कार्यक्रमसम्बन्धी वार्ता
तर डोनाल्ड ट्रम्प प्रशासनले यी सर्त अस्वीकार गरेको छ। उनीहरूको धारणा अनुसार परमाणु कार्यक्रमको मुद्दा समाधान नगरी होर्मुज खोल्दा वार्तामा अमेरिकी पक्ष कमजोर हुन सक्छ।
परमाणु कार्यक्रममै अड्किएको वार्ता
अमेरिकाले इरानलाई २० वर्षसम्म परमाणु कार्यक्रम स्थगित गर्न र ४४० किलो समृद्ध युरेनियम हस्तान्तरण गर्न आग्रह गरेको छ। तर इरानले यी मागलाई अस्वीकार गर्दै अत्यधिक र अनुचित भनेको छ। यसबीच पाकिस्तानमार्फत सन्देश आदान–प्रदान भइरहे पनि मुख्य विवादित विषयमा सहमति हुन नसक्दा वार्ता अझै अनिश्चित बनेको छ।

