निर्वाचन आउन ८१ दिन बाँकीः देशव्यापी रूपमा निर्वाचनको माहोल बन्दै, राजनीतिक गतिविधि तीव्र

काठमाडौँ, २८ मङ्सिर – प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी रहँदा मुलुकभर क्रमशः निर्वाचनको माहोल बन्दै गएको छ । निर्वाचन आयोगले आवश्यक तयारी तीव्र पारेको छ भने राजनीतिक दलहरूले पनि निर्वाचन केन्द्रित गतिविधि बढाएका छन् ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ दल दर्ताको प्रक्रिया पूरा गरिसकेको छ । सरकारले निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको जनाएको छ । यससँगै प्रमुख राजनीतिक दलदेखि नयाँ दलसम्मले देशव्यापी रूपमा निर्वाचन अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाउँदै केन्द्रमा नाम सिफारिस गर्न थालेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फका उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभासँगै राष्ट्रियसभा सदस्यका उम्मेदवारसमेत छनोट भइरहेका छन् । उम्मेदवार छनोटको प्रक्रियामा अन्य दलको तुलनामा कांग्रेस अगाडि देखिएको छ ।

नेकपा (एमाले) ले शनिबारदेखि ११औँ महाधिवेशन सुरु गरेको छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँमुक्त निर्वाचन भएमा बहुमत ल्याउने क्षमता एमालेसँग रहेको दाबी गर्नुभएको छ । उहाँले सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राख्दै राजनीतिक दलका गतिविधिलाई प्रोत्साहन गर्न आग्रह गर्नुभएको थियो ।

एमालेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दल दर्तालगायतका प्रक्रिया पूरा गरिसकेको छ । विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ‘सन्देशसभा’ का नाममा देशव्यापी निर्वाचन केन्द्रित गतिविधि तीव्र पारेको छ । सो दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गरेको थियो ।

यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको सो पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्ने जनाएको छ । सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको मितिमै निर्वाचन हुनुपर्ने स्पष्ट मत व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयारीदेखि उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फ उम्मेदवारी आवेदन खुला गरिसकेको सो पार्टीले विभिन्न भेला र सभामार्फत निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गरिरहेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिक प्रणालीतर्फको प्रतिशत निर्धारण प्रक्रिया अगाडि बढाएको छ । आयोगले दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमलगायत समूहका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने गरी प्रतिशत निर्धारण गर्न लागेको जनाएको छ ।

समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले सहभागिता जनाउने भएका छन् । निर्वाचन आयोगले ती दल दर्ता गरी निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । मङ्सिर २१, २२ र २३ गते तीन दिनभित्र आवेदन दिएका दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका हुन् । यद्यपि, दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचन चिह्न प्रयोग गर्ने गरी आवेदन दिएका कारण कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ भने एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरी सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनका लागि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको परिचालन स्वीकृति दिइसक्नुभएको छ । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारिसक्नुभएको छ ।

Facebook Comments Box