पृथ्वी राजमार्ग अझै अवरुद्ध, आजै खुलाउने प्रयास
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। काठमाडौँ–मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत धादिङको गल्छी र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा बाढीले लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध भएको हो।
ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार गजुरी गाउँपालिकाका दुई स्थान र गल्छी गाउँपालिकाको एक स्थानमा थुप्रिएको लेदो हटाउन बाँकी छ। गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा लेदोका कारण सडक अवरुद्ध रहेको उहाँले जानकारी दिनुभयो।
अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरी लेदो हटाउने काम भइरहेको छ। बस्ती क्षेत्रमा लेदो थुप्रिएकाले हटाइएको लेदो अन्यत्र लैजानुपर्ने हुँदा सडक खुलाउन केही समय लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गजुरी–५ को बाहुनी भिरमा थुप्रिएको लेदो हटाउन अझै उपकरण पुग्न सकेको छैन।
उक्त क्षेत्रमा काम सुरु गर्नुअघि गलौदी र महेश दोभानको लेदो हटाउनुपर्ने अवस्था रहेको बताइएको छ। यद्यपि, आजै दिनभरिमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने गरी सडक खुलाउने काम तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ।

